बर्दिबासमा निषेधाज्ञा तोडेर भएको प्रदर्शनमा दुई प्रहरी घाइते भएका छन्।
निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए।
सो घटनामा दुई प्रहरी घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए।
हिजोको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा लगाइएको थियो।
प्रजिअ कटुवालका अनुसार सिसाको बोतल लागेर प्रहरी जवान अर्जुन प्रसाद बानियाँ घाइते भएका छन् भने अर्का एक जवानको घुँडामा चोट लागेको छ।
उनीहरूको उपचार भइरहेको प्रजिअ कटुवालले बताए।
'पीडित पक्षसँग वार्तामा सहमति भई सकेकोमा केही उच्छृंखल तत्वहरू प्रदर्शनलाई जारी राखेका हुन्’, प्रजिअ कटुवालले भने।
यसैबीच, आज भएको वार्तामा पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरूलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए।
त्यस्तै, आज दिनभर प्रहरी र प्रदर्शनकारीबीच भएको ढुंगामुढाका दिनभर पूर्वपश्चिम राजमार्ग बन्द रह्यो।