महोत्तरीको बर्दिबासमा भएको घटनामा हत्या गरिएकी बालिका र प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत दिने भएको छ।
बर्दिबास नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी गोली लागेर मृत्यु भएका परिवारमध्ये एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारी उपलब्ध गराउने र पीडित दुबै परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत दिने निर्णय गरेको हो।
आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब खातुनको शव सोमबार राति फेला परेको थियो। बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका बर्दिबास-१ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर गम्भीर भएकोमा मंगलबार राति उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनाबारे सत्यतथ्य तथा निष्पक्ष ढंगले छानविन गर्न न्यायिक आयोग गठन र बालिका हत्या र गोली लागेर मृत्यु भएका दुबै घटनामा दोषी ठहरिनेलाई हदैसम्मको कारबाही गर्न नगरपालिकाले सरकारसँग माग गरेको छ।
‘तथ्यमा आधारित भई आफ्ना विषय सबैले व्यक्त गर्नुपर्छ,’ नगरप्रमुख विदुर कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा संयम अपनाई दोषी उपर कानुनी कारबाही गरी पीडितलाई न्याय दिलाउने काम सहयोग गरिदिन सबैसँग आग्रह गर्दछु।’