पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ। सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो।
अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा परीक्षण भइरहेको छ। निजीको तुलनामा सरकारी प्रयोगशालामा निकै कम परीक्षण भइरहेको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दैनिक १५ सय जनाको परीक्षण क्षमता भए पनि औसत दुई सय जनाको मात्र परीक्षण भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रयोगशालामा शनिबार २ सय ७० र शुक्रबार १ सय २४ जनाको परीक्षण भएको छ।
जनशक्ति र पूर्वाधारका हिसाबले देशकै ठूलो प्रयोगशाला भएर पनि सरकारले टेकु प्रयोगशालामा परीक्षण बढाउन सकेको छैन। अन्य सरकारी प्रयोगशालाको हालत यस्तै छ। चितवनस्थित भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा भने गत दुई दिनदेखि परीक्षण नै भएको छैन।
यसरी सरकारी प्रयोगशाला सक्रिय नहुँदा यसको लाभ भने निजी प्रयोगशालाले लिइरहेका छन्। शनिबारमात्र निजी प्रयोगशाला अल्फा हेअल्थ केयरले एक हजार ४४२ जना र स्टार अस्पतालले ५७१ जनाको नमूना परीक्षण गरेका छन्।
शनिबार कुल ९ हजार ३६८ जनाको परीक्षण गरिएमध्ये ४ हजार ९५४ जनाको निजी प्रयोगशालामा परीक्षण भएको छ।
पछिल्लो एक सातामा निजी प्रयोगशालामा ३४ हजार ९८२ जनाको परीक्षण हुँदा सरकारी प्रयोगशालामा ३२ हजार ८०३ जनाको परीक्षण भएको छ।
सरकारले दैनिक २६ हजार जनाको परीक्षण गर्न सक्ने दाबी गर्दै आए पनि परीक्षण भने घट्दै गएको छ। एक सातायता मात्र दैनिक औसत साढे ९ हजार जनाको मात्र परीक्षण भएको छ। त्यसमा पनि बढी परीक्षण निजी प्रयोगशालामा भएको छ।
गत कात्तिक पहिलो साता सरकारले सशुल्क परीक्षण गर्ने निर्णय गरेपछि परीक्षण घटेको थियो। तर पछि उक्त निर्णयलाई उल्ट्याउँदै लक्षण भएकाको नि:शुल्क परीक्षण गर्ने भने पनि परीक्षण बढ्न सकेको छैन। यसमा प्रमुख कारण कन्ट्याक्ट ट्रेसिङ नहुनुलाई औंल्याइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता डा. राजेशकुमार गुप्ताले अहिले कन्ट्याक्ट ट्रेसिङबाट निकै कम स्याम्पल आएकाले परीक्षण घटेको बताए।
'अहिले दैनिक दुईदेखि तीन सय वटामात्र स्याम्पलहरू आइरहेको छ। ट्रेसिङ गरेर स्याम्पल धेरै आएमात्र परीक्षण बढ्ने हो,' उनले भने।
सरकारले कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिएको छ। उपत्यकामा समेत प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। अहिले आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिए पनि सोहीअनुसार कन्ट्याक्ट ट्रेसिङ कार्य भएको पाइँदैन।
केही समयअघि मात्र ट्रेसिङ कार्यलाई समेत प्रभावकारी बनाउने हेतुले स्वास्थ्य मन्त्रालयले उपत्यकाका सबै पालिकाहरूमा निगरानी समूह गठन गर्ने जनाएको थियो। संक्रमितको पहिचानदेखि उनीहरूको सम्पर्कमा आएकाहरूको समेत परीक्षण गर्न समन्वय गर्ने हिसाबले उक्त समूहहरू टोलटोलमा गठन गर्ने भनिए पनि त्यसको प्रभावकारीता देखिएको छैन।
मन्त्रालयका कोभिड फोकल पर्सन रहेका डा. महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाका अधिकांश स्थानीय तहहरूमा निगरानी समूह गठन भइसकेको जनाए पनि त्यसको प्रभावकारीता परीक्षण संख्यामा देखिएको छैन। अहिले उपत्यकाबाट दैनिक दुईदेखि तीन सय जनाको मात्र ट्रेसिङमार्फत् स्वाब टेकु प्रयोगशालामा आइपुग्ने गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने लक्षणसहितका संक्रमित कम भएकाले सरकारी प्रयोगशालामा परीक्षण घटेको बताए।
'अहिले लक्षण भएका व्यक्तिको जाँच गर्ने भनिएको छ। त्यसैले लक्षण भएका मान्छे त अलिक कम हुन्छ नि,' उनले भने।
गौतमले सरकारले परीक्षण नघटाएको जिकिर गरे। उनले दैनिक २० हजार जनाको पनि परीक्षण गरिएको भन्दै आवश्यकता अनुसार परीक्षण बढाइने बताए। उनले अब सरकारले एन्टिजेन टेस्टमार्फत् परीक्षणलाई व्यापक बनाइने जनाए।
'अब केही दिनमा ट्रेसिङ गरेकाहरूको एन्टिजेन टेस्ट सुरू गर्छौं। साथै ठूलो समूहहरूको पनि एन्टिजेनबाटै परीक्षण गर्छौं,' गौतमले भने।