श्रीमतीको मृत्यु भएको दुई दिन नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ। महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत ४१ वर्षीय डबलसिंह मगरको आज मृत्यु भएको हो।
उनकी श्रीमती ३४ वर्षीया अम्बिकाको यही मंसिर १५ गते मृत्यु भएको थियो। फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए।
वडाध्यक्ष हरि दंगालीका अनुसार अम्बिवाको सोमबार राति ९ बजे मृत्यु भएको थियो भने डम्बरको बुधबार बिहान ६ बजे उपचारको क्रममा ज्यान गएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मंसिर ८ गते भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। सोही दिन उनको स्बाव संकलनको रिपोर्ट पोजेटिभ आएको थियो।
उपचाररत उनलाई मंसिर १३ गते भेन्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो।
अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठ्यारो महशुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको बताइएको छ।
उपचाररत मगरको पहिले कोरोना संक्रमण पोजेटिभ थियो। यही मंसिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए।
श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ। (राससको सहयोगमा)