बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्र अन्तर्गत गोरखा र धादिङका बासिन्दाहरू विभिन्न माग राखेर धर्नामा बसेका छन्।
घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा बुधबार आयोजना निर्माण हुँदा पानीको सतहले डुवानमा पर्ने क्षेत्रका बासिन्दाले मुआब्जालगायत माग राखेर धर्ना दिएका हुन्।
उनीहरूले छिटो आयोजना निर्माण सुरू गर्न र मुआब्जा वितरण सक्न माग राखेका छन्। घर गोठका साथै फूलफूलका बोटको मुआब्जा छिटो उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
जग्गाका मुआब्जा लिइसकेकाहरू पनि घरगोठ र बोटविरूवाको मुआब्जा माग्दै धर्नामा बसेका छन्। आयोजनाले घरगोठ र वोट विरूवाको पनि मुआब्जा दिने बताएको थियो।
यो धर्नालगायत आन्दोलनको नेतृत्व बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले गरेको छ।
उनीहरूले आजदेखि मंसिर २४ गतेसम्म रिले धर्ना गर्ने बताएका छन्।
बुधबार आयोजनाको कार्यालय अगाडि चौरमा २५ जना धर्नामा बसेका छन्। कालो ब्यानरमा उनीहरूले आफ्ना मागहरू लेखेर टाँसेका छन्।
सरोकार समितिका संयोजक हरेराम ढकालका अनुसार घरगोठ र बोटविरूवाको लगत सार्वजनिक गर्न आयोजनाले ढिलाइ गरिराखेकोले खबरदारी गरिएको हो।
धर्ना सुरू गर्नु पहिले संयोजक ढकाल बोलेका थिए। उनले आफूहरूलाई पुनर्वासको व्यवस्था गर्नसमेत माग गरेका छन्। गोरखा र धादिङका गरी साविकका २७ गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छ।
आयोजनाको गोरखा र धादिङतर्फ केही साविक गाविसका बासिन्दालाई जग्गाको मुआब्जा वितरण भइसकेको छ।