पाँच जना पुरूषलाई दक्षिण अफ्रिका पुर्याउने एक पक्राउ परेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दक्षिण अफ्रिका पुर्याउने एक जनालाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार ताप्लेजुङ, गेंरिडदेन गाउँपालिका-४ का ४३ वर्षीय गणेशकुमार लोंवालाई पक्राउ गरेको हो।
उनलाई मंगलबार पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
'पाँच जना पुरूषहरूलाई दक्षिण अफ्रिका लगेर अलपत्र पारेका रहेछन्,' प्रहरी उपरीक्षक द्विवेदीले भने।
उनका अनुसार लोंवाले उनीहरूलाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिने भन्दै प्रलोभनमा पारेका थिए।
उनीहरूबाट पैसा लिएपछि गैरकानुनी रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुबई हुँदै दक्षिण अफ्रिकासम्म पुर्याएका थिए।
त्यहाँ उनीहरूलाई विक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाएको ब्युरोले जनाएको छ।
उनीहरू कोही नभएको मौकामा भागेर नेपाली दूतावास पुगेर नेपाल फर्किएका हुन्।
फिर्ता भएपछि उनीहरूले प्रहरीकोमा जाहेरी दिएका थिए।
प्रहरी उपरीक्षक द्विवेदीका अनुसार यस घटनामा अरू कोही संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको छ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भइरहेको उनले बताए।