रामजी रामले आफूले मानिसहरूबाट पाएको सहयोग रकमबाट सहपाठी पंकज रामको होस्टल र मेस शुल्क बुझाइदिएका छन्।
शुल्क बुझाएसँगै पंकजले पनि बुधबारको एमबिबिएस चौथो वर्षको परीक्षा दिन पाउने भएका छन्।
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत उनीहरूलाई कलेजले शुल्क नबुझाएको भन्दै परीक्षा दिनबाट रोकेको थियो।
हिजोदेखि सुरू भएको परीक्षा दिन गएका उनीहरूलाई परीक्षा हल प्रवेश गरेको एक मिनेटमै कलेजले निकालिदिएको थियो।
कलेजले रामजी रामलाई अतिरिक्त शुल्क र पंकज रामले अतिरिक्तसहित होस्टल र मेस शुल्क नतिरेको भन्दै परीक्षा दिनबाट रोकेको थियो।
रामजीले भने होस्टल र मेस शुल्क लिनबाहेक अन्य शुल्क कलेजले लिन नपाउने जनाए।
रामजीले कलेज र मेस शुल्क तिरिसकेका छन् भने पंकजले भने पैसा अभावका कारण तिर्न सकेका थिएनन्।
कलेजले परीक्षा दिन रोकेपछि इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले मंगलबार रामजी रामलाई परीक्षामा सामेल गराउनु भन्दै नेसनल कलेजलाई कडा निर्देशन दिएको थियो। उक्त निर्देशनपछि कलेजले मंगलबार नै रामजी रामलाई बोलाएर फाराम भर्न लगाएको थियो।
तर रामजीले साथी पंकज रामले पनि परीक्षा दिन पाउनुपर्ने कुरा राखेका थिए। पंकज पनि उनीसँगै कलेज प्रशासन गएका थिए।
कलेजले भने आइओएमबाट पत्र आए पनि होस्टल र मेस शुल्क नबुझाएको भन्दै पंकजलाई फाराम दिन आनाकानी गर्यो।
रामजीले तत्काल पंकजको होस्टल र मेस शुल्कको चेक काटिदिए। त्यसपछि कलेजले दुबैलाई फाराम भर्न दियो।
'३ लाख ९९ हजार २ सय ३७ रुपैयाँ पंकजको होस्टल र मेस शुल्क बुझाएपछि बल्ल कलेजले पंकजलाई पनि फाराम भर्न दियो,' उनले भने।
केही समयअघि रामजीले 'रुटिन अफ नेपाल बन्द' नामक फेसबुक पेजमा सार्वजनिक सहयोगको अपिल गरेका थिए।
उनले त्यहाँबाट १७ लाख रकम उठेको जानकारी दिए। उक्त रकमबाटै पंकजको शुल्क तिरिदिएको उनले जनाए।
'मैले पनि अरुबाटै पाएको सहयोग हो। त्यसमाथि मैले आफूसँग नहुँदा पनि मान्छेलाई सहयोग गरेको छु। म यस्तैको लागि बाँच्ने हो,' रामजीले भने।
पंकजले साथी रामजीकै कारण आफूले भोलिको परीक्षा दिन पाएको प्रतिक्रिया दिए।
'उहाँ र म सुरूदेखि नै सँगै छौं। अहिले पनि भोलिको परीक्षाको तयारीका लागि सँगै पढ्दैछौं,' उनले भने, 'भोलि रामजी जस्तै भएर अगाडि बढ्ने सोच छ।'
अन्ततः कलेजले फाराम दिएपछि उनीहरू दुबैले बुधबारको परीक्षा र बाँकी परीक्षा पनि दिन पाउने भएका छन्।
एमबिबिएस पाँचौं वर्षमा अध्ययरत भए पनि पैसा अभावका कारण दुबै जनाले गत वर्ष चौथो वर्षको परीक्षा दिन पाएका थिएनन्।
यसवर्ष पनि कलेजले शुल्क नबुझाए परीक्षामा सामेल नगराउने जनाएपछि रामजीले भने फेसबुकमा मानिसहरूबाट सहयोग मागेका थिए।
उक्त सहयोगबाट उठेकै रकमबाट उनले मंगलबार पंकजको होस्टल र मेस शुल्क तिरिदिएका हुन्।
सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर पढाउने भनेपछि सोही कार्यक्रम अन्तर्गत रामजी राम र पंकज राम पढ्दै आएका छन्।