राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
जिल्लाको राजपुर गाउँपालिका वडा नं. २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार दिउँसो नुहाउने क्रममा राप्तीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार उनी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए।
चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकिएको एसपी चन्दले बताए।
शुक्रबार बिहान पुनः ८ बजेपछि बेपत्ता चौधरीको खोजीका लागि नेपाली सेनासहितको टिम खटिने एसपी चन्दले जानकारी दिए।
स्थानीयले बेपत्ता चौधरीले मदिरा सेवन गरेर नुहाउन भनी राप्तीमा पसेको बताएका छन्।
प्रहरीले भने त्यसबारे केही बताएको छैन।