दाङमा चल्लालाई न्यानो बनाउनका बालिएको ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन्।
घाइते उनीहरूलाई दिउँसो दुई बजेपछि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ। घटनामा १३ वर्षीय सिजन खड्का पनि घाइते भएका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि खड्का भने बेलुका डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक भलक शर्माले जानकारी दिए
वलीले पाँच सय चल्लालाई न्यानो पार्नका लागि भनेर ग्यास सिलिण्डर बालेका थिए। जाडोका कारण चल्ला नमरुन् भनेर उनले कोठा न्यानो बनाउन ग्यास सिलिण्डर बालेका थिए।
‘त्यो ग्यास सिलिण्डर रातभर बालेपछि धेरै हिट भएपछि विस्फोट भएर आगो लागेको रहेछ,’ शर्माले भने, ‘त्यही आगलागीबाट उहाँहरू पनि घाइते हुनुभएको छ।’
आगलागीबाट वलीको गोठ पूरै जलेको, सबै चल्ला जलेर मरेको र घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।
बिहान ६ बजेतिर आगलागी भएको शर्माले बताए । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ।