प्रहरीले धम्क्याएर पैसा कमाउन खोज्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई काठमाडौंको बागबजारबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-२का १९ वर्षीय प्रदीप कार्की, शैलुङ गाउँपालिका-८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की छन्।
उनीहरू अहिले काठमाडौंको असनमा बस्दै आएका थिए।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न व्यक्तिहरूलाई फोन तथा एसएमएस गरी पैसा मागेका थिए। नदिए ज्याम समेत मार्ने धम्की दिएको उनले बताए।
उनीहरूले एक जना व्यक्तिसँग २५ लाख माग गरेपछि प्रहरीकोलाई खबर गरेको थियो।
त्यसरी संगठित रूपमा अपराध गर्न लागेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूको खोजी गरेको थियो।
खोजतलासको क्रममा उनीहरूलाई बागबजार मोडल अस्पताल अगाडिबाट पक्राउ गरेको थियो।
उनीहरूबाट प्रहरीले धम्क्याउन प्रयोग भएको मोबाइल फोन समेत बरामद गरेको छ।
'उनीहरूले एक जना व्यक्तिसँग धक्याएर २५ लाख रुपैयाँ मागेको रहेछन्। तर लिन पाएनन्,'एसपी कार्कीले भने,'उनीहरू आपराधिक पृष्ठभूमिबाट होइनन्।'
उनीहरूले यसरी योजना बनाएरै विभिन्न व्यक्तिहरूलाई धम्क्याएर पैसा कमाउने सोचेको कार्कीले बताए।
'पहिले उनीहरू आपराधिक गतिविधिमा संलग्न थिएनन्। अहिले उनीहरूले योजना बनाएर लुटपाट गर्ने सोचेका रहेछन्,'उनले भने।
महाशाखाले उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गरेको छ।
थप अनुसन्धान गर्न उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वर पठाएको छ।