रुपन्देहीसहित, नवलपरासी, कपिलवस्तुलगायत बुटवल आसपासका तराईका जिल्लामा बुधबार बाक्लो हुस्सु लागेको छ।
माघ महिना लागेसँगै घाम लाग्न सुरू गरेको बुटवल, भैरहवा लगायतका क्षेत्रमा बुधबार बिहान भने बाक्लो हुस्सु लागेको छ।
मंगलबार सामान्य देखिएको हुस्सु रातिदेखि भने बाक्लिएको छ।
बाक्लो हुस्सुका कारण सडकमा नजिकै पुगेपछि मात्रै सवारी साधन गुडेको देखिन्छन्।
सडकमा गुड्ने सवारी साधनले पनि लाइट बालेर गुड्ने गरेका छन्। मौसमविद्हरु बुधबार यसवर्षको सबैभन्दा बाक्लो हुस्सु लागेको बताउँछन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देखिएको हुस्सु र कुहिरो हटे पनि घाम लाग्ने सम्भावना कम देखिएको छ।
तराई क्षेत्रमा यसवर्ष पुस महिनामा पानी परेको थिएन। त्यसैकारण हुस्सु नलागेको बेला पनि चर्को घाम लागेको थिएन।
पुसको अन्तिमतिर लागेको हुस्सु तीन/चार दिनमै हटे पनि पानी नपर्दा माघको पहिलो सातामा पुन: हुस्सु लागेको छ।
बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लागेपनि शीतलहर भने अहिले छैन। हुस्सुसँगै शीतलहर पर्न थाले जनजीवन झनै प्रभावित हुने देखिएको छ।
हुस्सुका कारण भिजिविलिटी कम हुँदा मंगलबार भैरहवाबाट हुने उडान तथा अवतरण प्रभावित थियो।
बुधवार झनै बाक्लो हुस्सु लागेकोले उडान हुन सक्ने सम्भावना नहरेको विमानस्थल सूचना शाखाले जनाएको छ।