नेपाल विद्यार्थी संघले बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ।
नेविसंघ कान्तिपुर सिटी कलेजले बिहीबार भट्टको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेको थियो। साथै नेविसंघले भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई छिटो पहिचान गरी कानुनअनुसार कारवाही गर्न पनि प्रदर्शन गर्दै माग गरेको छ।
नेविसंघ नेता किशोर गुरूङले ‘भट्टको हत्यारालाई पक्राउ गर्न ढिलाइ गर्नुले कतै सरकार नै बलात्कारीको संरक्षणमा लागेको त होइन? भन्ने प्रश्न उठेको’ बताए।
भट्टको बलात्कारपछि हत्या भएको थियो। उनको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो। हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै उनका परिवारले शव बुझेका छैनन्।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।