जंगी अड्डामा उच्च सैनिक अधिकारीहरूको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरू भएको छ।
विगतको समीक्षा, सेनाको भावी कार्यदिशा र कार्ययोजनाको विषयमा रणनीति तय गर्न उच्च सैनिक अधिकारीहरूको बैठक सुरू भएको हो।
हरेक ६/६ महिनामा आयोजना हुने बैठकको बुधबार प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरे।
त्यस अवसरमा ओलीले बैठक विगतको गहन समीक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्ययोजनाका लागि आधार निर्माण हुने विश्वास लिए।
उनले बैठकमा हुने छलफल तथा निष्कर्षले नेपाली सेनाका फिल्डमा तैनाथ, बाहिनी, गण तथा गुल्महरूका लागि मार्गदर्शन हुने बताए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रूपमा विकास गर्नुपर्ने बताए।
उक्त लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थागत गर्दै कार्यसंस्कृतिका रूपमा स्थापित गर्दै लानुपर्ने बताए।
बैठकले विषयगत तथा क्षेत्रगत रूपमा हाल भइरहेका कार्यहरूको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए।
समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरू तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझावसहितको प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।
समन्वयात्मक बैठक र आपसी अन्तर्क्रियापश्चात प्राप्त हुने राय सुझावहरूले आगामी दिनमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास लिइएको जंगी अड्डाले जनाएको छ।
कार्यक्रममा रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका रथी, सबै पृतनाका पृतनापतिलगायत जंगी अड्डा कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको उपस्थिति थियो।