गौतमबुद्धको जन्मस्थल रहेर पनि नेपालले लुम्बिनीलाई विश्वसामु चिनाउन नसकिरहेको अवस्थामा नेपाल टुरिजम बोर्डले लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्ने योजना अगाडि सारेको छ।
अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीलाई प्रवर्द्धन गरे त्यसबाट नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत लाभ लिन सक्ने भन्दै बोर्डले लुम्बिनीको ब्रान्डिङ योजना अगाडि सारेको हो।
रुपन्देहीमा सोमबार आयोजित कार्यक्रममा सहभागीहरुले लुम्बिनी र आसपासमा रहेका बुद्धसँग सम्बन्धित पर्यटकीय गन्तव्यहरुको विकास तथा प्रचारप्रसार गरेर त्यसबाट लाभ लिन सकिने भन्दै बोर्डलाई सुझाव दिए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले लुम्बिनीको विकासका लागि निजी क्षेत्रले नयाँ योजना ल्याउनुपर्ने बताए। उनले निजी क्षेत्रले ल्याउने योजनामा प्रदेश सरकारले हातेमालो गर्ने र स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
रुपन्देहीको लुम्बिनीमा मात्र नभई नवलपरासी र कपिलवस्तुमा बुद्धसँग सम्बन्धित दर्जनौ पुरातात्विक स्थलहरु रहेकोले ती क्षेत्रको पहिचान संरक्षण तथा उत्खनन् गरी प्रचारप्रसार गर्नुपर्ने बताए ।
उपाध्यक्ष गौतमले नेपालका हिमाली क्षेत्रमा समेत बुद्धका अनुयायी रहेको र उनीहरुले बुद्ध जीवनीसँग सम्बन्धित सामाग्रीको प्रयोग गर्दै आइरहेकोले ती क्षेत्रहरुको प्रचारमा समेत ध्यान दिनुपर्ने बताए।
गौतमले ग्रेटर लुम्बिनीको योजनामा समग्र लुम्बिनी प्रदेशलाई नै समेटिनुपर्ने बताए। लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको र उनीहरुलाई लक्षित गरी प्रदेश सरकारले लुम्बिनीमा 'बर्थिङ' अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको बताए ।
नेपाल टुरिजम बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि आफ्नो गाउँ आफै बनाउँ भनेर प्रत्येक ठाउँमा प्रतिनिधि चयन गरेर काम गरिरहेको बताए।
उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतमा थप प्रचार गर्नका लागि साँच्चिकै ब्रान्डिङ गर्नैपर्ने बताए। ब्रान्डिङका लागि लुम्बिनीबारे बनाइएको लोगोका विषयमा पनि कार्यक्रममा छलफल गरिएको थियो।
सहभागीहरुले ब्रान्डिङको लागि बनाइएको लोगोमा अशोक स्तम्भमा उल्लेख भएको लिपीलाई ध्यान दिनुपर्ने र बुद्धको जीवनमा घटेका मुख्य घटनालाई समेट्न पनि सुझाव दिएका थिए।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव राजन केसीले लुम्बिनीलाई आधार बनाएर प्रदेश मात्रै नभई समग्र मुलुकको विकास गर्न सकिने बताए।
उनले अहिले प्रदेश सरकार र संघको क्षेत्राधिकारका कारणले लुम्बिनीको चाहेजति प्रचारप्रसार गर्न नसकिए पनि प्रदेश सरकारले लुम्बिनीको विकासमा हातेमालो गर्ने बताए।
उनले अहिले प्रदेश सरकारले कनकमुनी र कक्रुछन्द बुद्धको स्ट्राचु बनाउने काम गरिरहेको र लुम्बिनीदेखि तिलौराकोटसम्मको सुत्केरी मार्गको प्रचारमा लागेको जानकारी दिए।