जिल्ला प्रहरी कार्यालय बर्दियाले ‘नो ड्रग्स’ अभियान सञ्चालन गरेको एक सातामा २५ जना पक्राउ परेका छन्।
यसै साता चलाइएको अभियानमा ११ वर्षीय नाबालकदेखि ३५ वर्षीय वयश्क युवा लागुऔषधको कूलतमा फसेको पाइएको छ।
बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार यो अभियान चलाउँदा कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थी कूलतमा फसेको भेटिएको छ। यसरी लागुऔषधमा फसेका नाबालक र विद्यार्थीलाई सम्झाइबुझाइ प्रहरीले पहिलोपटकका लागि छोडेको छ।
पक्राउ परेकामध्ये तीन जनालाई लागुऔषध मुद्दामा कारबाही सुरू गरिएको छ भने २२ जनालाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको छ।
कार्कीका अनुसार यो साता ६० मिलिग्राम ब्राउनसुगर र २५ ट्याब्लेट नाइट्रोभेट लागुऔषधसहित पक्राउ परेका थिए।
‘प्राय:जसो लागुऔषध प्रयोगकर्ताका अभिभावक आफ्ना सन्तान कूलतमा फसेकोबारे अनभिज्ञ रहेको पाइयो,’ कार्कीले भने।
कलिलो उमेरमै लागुऔषध प्रयोगमा संलग्न भएको पाइएकाले उनीहरूको भविष्यको लागि यस्तो अभियान चलाइएको कार्कीको भनाइ छ। त्यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा हरेक स्कुल, वडा र समाजमा गएर बालबालिका तथा वयश्कहरूमा सचेतना जगाउने काम भइरहेको छ।
‘दैनिकजसो हामी १० वटा ठाउँमा गएर पढाउने र सचेतना फैलाउने काम गरिरहेका छौं,’ प्रहरी उपरीक्षक कार्कीले भने।
अभियानमा अपरेसन चलाउने र लागुऔषध भेटिँदा पक्राउ गर्ने गरिएको छ।
‘प्रयोगकर्ता मात्र भेटिए उनीहरूका अभिभावक बोलाएर लागुऔषध प्रयोगले पार्ने असर र कानुनी कारबाहीको बारेमा जानकारी दिने गरेका छौं,’ कार्कीले भने, ‘यसो गर्दा कलिला बालबालिकाका अभिभावक सचेत भई दुर्व्यसनबाट आफ्ना छोराछोरी जोगाउन सजिलो हुन्छ भन्ने विश्वास लिएका छौं।’
यसैबीच, बर्दिया प्रहरीले ओमान पठाइदिने बहानामा दुई महिलालाई भारत लगेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला झापा शिवसताक्षी नगरपालिका-११ का ४४ वर्षीय शेखरबहादुर सुनुवार र बर्दिया मधुवन नगरपालिका-१ का २५ वर्षीय कन्हैयालाल यादव छन्।
दुबैले महिलालाई दिल्लीको बाटो हुँदै ओमान पठाइदिने भनेर महिलालाई भारत पुर्याएका थिए।
ती महिलालाई उद्दार गरी अनुसन्धान गर्दा प्रहरीले संलग्न सुनुवार र यादवको पहिचान पत्ता लगाएको थियो।
पहिचान खुलेका दुबैलाई महानगरीय अपराध महाशाखाको सहयोगमा काठमाडौं-३१ शान्तिनगरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए।