काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल कस्मेटिक सामान बनाउने उद्योगमा काम गर्थे। उद्योगको कारखाना बनेपामा थियो, अफिस दरबार मार्गमा। उनको काम दरबारमार्गको अफिसमा थियो।
केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो।
आफूलाई असहज भएपछि उनले मंगलबार बिदा लिएर कोठामै आराम गर्न बसे। उनी काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित देवीप्रसाद खरेलको घरमा डेरा गरी बस्थे।
उनकी श्रीमती तीन महिने सुत्केरी छन्। सुत्केरी भएपछि उनी माइती बस्न गएकी थिइन्। केही समय यता मण्डल डेरामा एक्लै बस्थे।
विदामा बसेका मण्डललाई मंगलबार अफिसका साथीहरूले यत्तिकै फोन गरे। पटक-पटक फोन गर्दा पनि उनले उठाएनन्।
त्यसपछि साथीहरू उनको डेरामै पुगे।
डेरामा पुगेका तीन जना साथीहरूले मण्डललाई खाटमा अचेत अवस्थामा भेटाए।
'केही दिनदेखि स्वास्थ्यमा समस्या देखेपछि उनी विदामा बसेका थिए। अफिसका साथीहरूले फोन गरेछन्,' भेटाएको महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमलाल भुसालले भने,' फोन नउठाएपछि उनीहरू कोठामा पुगेका रहेछन्।'
साथीहरूले चिनेका डाक्टरलाई कोठामै बोलाए। चिकित्सकले उनको मृत्यु भइसकेकाले प्रहरीलाई बोलाउन सुझाए।
घटनाबारे मालीगाउँ प्रहरीलाई साँझ चार बजे खबर पुगेको थियो।
डिएसपी भुसालका अनुसार घटना शंकास्पद छैन। प्रहरीले अहिले नै केही शंका गर्नुपर्ने आधारहरू नभेटिएको उनले बताए।
'हामीले सबै हेर्यौं। उनको मृत्यु शंकास्पद छैन,' उनले भने। उनको हृदयघातबाट मृत्यु भएको हो की भन्ने आशंका प्रहरीले गरेको छ।
प्रहरीका अनुसार उनको कोठाबाट प्रहरीले ढाड दुख्ने र खोकीको औषधी फेला पारेको छ।
मण्डलको मृत्यु भएकोबारे प्रहरीले उनका आफन्तहरूलाई पनि खबर गरिसकेको छ। कलकत्ताबाट उनका आफन्त आउँदै गरेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टम गर्न महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाएको छ।