पर्सामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन्।
ठोरी गाउँपालिकामा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका वडा नम्बर ४ गोपीवस्तीका १९ वर्षीय अभिषेक गोलेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
टाउको, खुट्टा र हातमा चोट लागेका उनलाई तत्काल वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल पानीट्याङ्कीमा रिफर गरिएको थियो।
न्युरो अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
गए राति करिब ९ बजेतिर भएको दुर्घटनामा ठोरी गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय मधु गोले, १७ वर्षीय सञ्जय लामा र १३ वर्षीय आनन्द परियार र जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौका टोलाका ४५ वर्षीय रामसिंह चौधरी घाइते भएका छन्।
मोटरसाइकल चालक चौधरी सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् भने अन्य घाइतेको न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।
तीव्र गतिमा रहेको मोटरसाइकलले वीरगञ्ज-ठोरी हुलाकी सडक खण्डअन्तर्गत गोपीवस्तीमा पैदल हिँडिरहेका ४ जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
पर्साको विजयवस्तीबाट जीराभवानी गाउँपालिका-३, नौकाटोला जाँदै गरेका चौधरी सवार ग९प ९५८७ नम्बरको मोटरसाइलले उनीहरुलाई ठक्कर दिएको थियो।