वैशाख १ गते अर्थात् नेपालीहरुको नयाँ वर्ष। नेपालीहरू एकअर्कालाई शुभकामना आदान प्रदानमा व्यस्त छन्।
नयाँ वर्षलाई थप हर्षोउल्लास र स्वागतमा हारमको बोटमा फूल फूल्ने पनि गर्छ। यो यस्तो फूल हो जो वर्षको पहिलो दिन मात्रै फूल्छ।
सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेशको फूलबारीमा यस्तै फूल देख्न पाइन्छ।
सलहेस फूलबारीको नामले चिनिएको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्षमा हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख आफैँ ओइलाएर जान्छ।
फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन फूल फूल्नु र साँझपख ओइलाएर जानु आजसम्म रहस्य नै छ।
यो फूल माला आकारको सेतो हुन्छ। सलहेस फूलबारीमा यही फूल हेर्न वर्षेनी मेला लाग्ने गरेको थियो। तर यसवर्ष कोरोनाले गर्दा भने मेला नलाग्ने भएको छ। यहाँ भारतबाट पनि मानिसहरू मेला हेर्न आउँथे।
सलहेस र मालिनीको प्रेम
राजा सलहेस मिथिलाको दुसाध जातीको लोकदेवता हुन्। राजा सलहेसको जीवन गाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फूल्ने फूलसँग सम्बन्ध रहेको किम्बदन्ती रहेको पाइन्छ।
छैठौँ शताब्दीतिर मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो। त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ। त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट एउटा जयवर्द्धन (सलहेस) को जन्म भएको थियो। सानैदेखि प्रखर वुद्धिका धनी र शौर्यशाली थिए सलहेस।
सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो। बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे।
भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गदपति बने। सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए।
पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्वदन्ती रहि आएको छ।
मालिनी सलहेसकै प्रतिक्षामा प्रत्येक फूल टिप्नका लागि सो फूलबारी आउने गर्थिन्। मालिनी नै सलहेशको यादमा आज पनि सो फूलबारी आउँछिन् जनविश्वास रहेको छ। फूलबारीलाई राजा सलहेस र मालिनी बीचको प्रेमको प्रतीकको रुपमा लिइने गरिन्छ।
राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन्। सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा छ।
लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छ। दिन ढल्दै जाँदा उक्त फूल ओइलाएर जान्छ।
किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन्। साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जनविश्वास छ। मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन्।