पाकिस्तानबाट एयर अरेबियाको जहाजमा सारजाह हुँदै नेपाल आएका एक व्यक्ति लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका-१ का ४९ वर्षीय दावा लामा तामाङ छन्।
विशेष सूचनाका आधारमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
उनले क्याप्सुल बनाएर लागुऔषध निलेका थिए। उनको दिसाबाट ९०० ग्राम हेरोइन निकालिएको ब्युरोका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।
उनको पेटबाट हेरोइन निकाल्न अस्पतालमा भर्ना गर्नु परेको थियो। कँडेलका अनुसार उनी चैत २६ गते पाकिस्तानबाट नेपाल आएका थिए।
कँडेलका अनुसार तामाङ मार्च २९ मा काठमाडौंबाट दुबई गएका थिए। त्यहाँ पाँच दिन बसेपछि उनी पाकिस्तान जाने भिसा मिलाएर अप्रिल ४ मा लाहोर गएका थिए।
लाहोरमा तीन दिन बसे। अप्रिल ७ मा लाहोरबाट पाकिस्तानको फैसलावाद पुगे।
फैसलावादमा पुगेपछि उनले लागुऔषको क्याप्सुल निले।
‘जम्मा ९४ वटा क्याप्सुल दिइएकोमा एउटा क्याप्सुल निल्न नसकेपछि ९३ वटा लिएर आएको बुझिएको छ,’ प्रहरी उपरीक्षक कँडेलले भने।
अप्रिल ८ मा उनी काठमाडौं आएका थिए। उनलाई ट्रयाकिङ गरिरहेको प्रहरीले पक्राउ गर्यो।
पक्राउ परेपछि उनलाई प्रहरी अस्पताल लगियो। एकपटक एक्सरे गर्दा लागुऔषध देखिएन। दोस्रो पटक सिटिस्क्यान गर्दा देखा परेपछि भर्ना गरेर दिसाबाट निकालिएको कँडेलले बताए।
२८ गते बिहानसम्म ९३ वटा क्याप्सुल दिसाबाट निकालेको कँडेलले बताए।
सो कारोबारमा संलग्न धादिङकै गोपी तामाङ, होनिमाया तामाङ र लम्जुङका बयसबहादुर गुरुङसमेतलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
बरामद हेरोइनको मूल्य करिब ९० लाख रुपैयाँ छ।
दावा लामा यसअघि पनि लागुऔषध ब्युरोबाट पक्राउ परेक थिए। उनलाई २०६५ सालमा प्रहरीले सेतो हेरोइनसहित पक्राउ गरेको थियो। ६ नेपाली र तीन विदेशी नागरिकसहित पक्राउ परेका उनी ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए।
यसैगरी, गोपी तामाङ पनि लागुऔषध मुद्दामा फरार थिए। २०६९ सालमा सेतो हेरोइनसहित पक्राउ परेका उनी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
पक्राउ परेकाहरू भरिया हुन्। सूचना पाउनेबित्तिकै प्रहरीले दावालाई खोजी गर्यो। उनलाई नेपालबाट होनिमाया तामाङले सहयोग गरिरहेकी थिइन्। लामासँग होनिमाया जोडिएपछि प्रहरीले उनलाई निगरानीमा राख्यो।
हेरोइन कसलाई बुझाउन ल्याइएको भन्ने पक्राउ परेकाले बताएका छैनन्। यसमा ठूलो गिरोह सक्रिय रहेको ब्युरोको दाबी छ।
लामाले दुई हजार डलर पाउने सर्तमा लागुऔषध निलेर ल्याएको प्रहरीलाई बताएका छन्।