सप्तरीमा समेत कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएपछि निषेधाज्ञा लागू हुने भएको छ।
आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको सहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकले सदरमुकाम राजविराज, रुपनी, काठौना, कल्याणपुर, खुचुहिया, पातो, बोदे बरसाईन, तोपा, महुली, पत्थरगाढा, छिन्नमस्ता, जिरिया हटिया मंसापुर, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, वीरेन्द्र बजार, लगायतका सहरी क्षेत्रमा आवागमन निषेध गरिनेछ।
जिल्लामा रहेको युनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसन सञ्चालन गर्न भनिएको सिडिओ पोखरेलले बताए।
बुधबारसम्मको तथ्यांक अनुसार सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।