म्याग्दीको मालिका गाउँपालिकाले कोभिड-१९ सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ। सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए।
यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो। सो अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो। अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना सङ्क्रमित भर्ना भएका छैनन्।
आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिए। आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ। उनका अनुसार मालिका गाउँपालिका ठेगाना भइ हाल गाउँपालिका बाहिर बसोबास गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।