महोत्तरीमा एक जना प्रहरी जवान मृत फेला परेका छन्।
नेपाल भारत सिमाना क्षेत्रको साम्सी गाउँपालिका- ७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान मृत फेला परेका हुन्।
चौकीबाट ७ सय मिटरको दूरीमा रहेको आँपको बगैंचामा रूखमा पासो लगाएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टले जानकारी दिए। उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरी उपरीक्षक दिनेश आचार्यसहितको टोली घटनास्थल पुगेको छ।
उनी पर्साको बहुदरमाई नगरपालिका-१का हुन्। डिएसपी विष्टका अनुसार उनको आउँदो जेठ ७ गतेका लागि विवाह पनि तय भइसकेको थियो।
विवाहका लागि विदा लिएर घर जाने तयारी गरिरहेका जवान मंगलबार बिहान मृत फेला परेका हुन्।
प्रहरीले जवान जितेन्द्रको परिवारलाई खबर गरिसकेको छ। परिवारको सदस्यहरू आएपछि थप अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।