रूपन्देहीका पुराना पत्रकार हिक्मत चौधरीको निधन भएको छ।
कोरोना संक्रमण भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका चौधरीको आज बिहान पौने तीन बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।
चौधरीलाई गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएपछि तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित आइसोलेसन हुँदै कोरोना अस्पतालको आइसियुमा लगिएको थियो।
एकसातासम्म आइसियूमा राखी उपचार गर्दा पनि श्वासप्रश्वासमा सुधार नदेखिएपछि उनलाई सोमबार भेन्टिलेटरमा लगिएको अस्पतालले जनाएको छ।
लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा स्थापना कालदेखिनै कार्यरत थिए। कृषि प्राविधिकसमेत रहेका चौधरीले समाचारसँगै कृषिसम्बन्धी कार्यक्रम चलाउँदै आएका थिए।
चौधरी नेपाल पत्रकार महासंघ रुपन्देहीको यसअघिको कार्यसमिति सदस्य थिए।