काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ।
गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो।
काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए।
नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो। यसरि प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षभन्दा माथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो।
‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भने पछि खोप लगाउने कार्यक्रम सुरू गरेका थियौं अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ,’ जनस्वास्थ्य प्रमुख कुँवरले भने, ‘अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित छैन।’
कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो।
महानगरले आजसम्म करिब २८ हजारलाई खोप लगाएको बताएको छ।
यसैबीच ६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको छ। अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ।