सोलुखुम्बुमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित सेतोमानेमा ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पोखरा जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकले बोकेको जेबिसी क्रेनले विद्युतको तारमा छुँदा करेन्ट लागेको थियो।
सो करेन्ट लाग्दा ट्रक चालक बाग्लुङ बडिगाड गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय भुमिराज मरासैनी र जेसिबीका चालक २३ वर्षीय राम परियारको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी नायब उपरीक्षक कबित कटवालको कमाण्डमा टोली खटिएको थियो। सो टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल फाप्लु पठाइएको छ।
राम परियारकी श्रीमती लीला परियार र सहचालक वसन्त पौडेल घाइते छन्।
‘उहाँहरूलाई उद्धार गरेर अस्पताल लग्यौं। अहिले उहाँहरू खतरामुक्त हुनुहुन्छ,’ डिएसपी कटवालले भने।