सोमबारदेखि परेको वर्षाका कारण पहिरो खस्दा बाजुराका मुख्य सडक अवरूद्ध भएका छन्।
जिल्लाको सदरमुकाम जोड्ने साँफे-मार्तडी र सदरमुकामबाट कोल्टी जोड्ने मार्तडी-कोल्टी सडकखण्ड अवरूद्ध भएका हुन्।
जिल्लामा परिरहेको वर्षाले यी सडकखण्डको बीचबीचमा पहिरो क्षति गर्दा सोमबारदेखि सडक अवरूद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार अवरूद्ध भएका सडक सुचारु गर्ने काम भइरहेको भए पनि निरन्तर भारी वर्षाले कठिनाइ भएको छ।
सडक अवरूद्ध हुँदा यातायात ठप्प भएपछि अतिआवश्यक काम प्रभावित भएका छन्।
गत वर्षको बाढी र पहिरोले क्षति गरेको साँफे-मार्तडी सडकखण्ड अहिलेसम्म पूर्णरूपमा मर्मत हुन सकेको थिएन। अस्थायी रूपमा सञ्चालन भइरहेको सो सडकखण्ड यस वर्षको बर्खामा पनि ठूलो मात्रामा क्षति भइरहेको छ।
यस्तै, सोमबार बाजुरामा बाढीले बगाउँदा दुई जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्।
बाढी र पहिरोबाट जनधनको हुन नदिन प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा राख्न सम्बन्धी निकायलाई पत्राचार गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
‘लगातारको वर्षाले बाढी पहिरोको जोखिम बढ्दै गएको छ। विपदबाट हुने क्षति कम गर्न तीनै वटा सुरक्षा निकाय, खाद्यान्नको मौज्दात गर्न, सडकमा उपकरण २४ घण्टा उपलब्ध राख्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छौं,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने।
यस्तै, लगातारको वर्षातका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरूद्ध पनि भएको छ।
सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ।
पहिरोले राजमार्ग अवरूद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दर्जनौं सवारी साधन बीच बाटोमा ठप्प छन्।
पहिरो जाँदा गएरातिदेखि जयपृथ्वी राजमार्ग (खोडपे–बझाङ) अवरूद्ध भएको छ।
पछिल्लो ३ दिनदेखि भइरहेको लगातारको वर्षाका कारण राजमार्गको ढोल्यामोडबाट करिब ५ सय मिटर अगाडि पहिरो खस्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सडकमा पहिरो खसेपछि खाद्यान्न सामग्री बोकेका सवारी रोकिएका छन्। सडक खुलाउनका लागि समन्वय भइसकेको र पानी परिरहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको प्रहरीले जनाएको छ।