प्रहरीले गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने गोदाममा प्रहरीले छापा मारेको छ।
महानगरीय अपराध महाशाखा मीनभवनले मंगलबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीमा कार्यरत रामेछाप घर भई काठमाडौं नयाँ बानेश्वर बस्ने २२ वर्षीय सुजन गौतम र बझाङ घर भइ कोटेश्वर बस्ने २८ वर्षीय चन्द्रप्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
अहिले सो कम्पनीका सञ्चालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहाल फरार छन्। उनले कोठा भाडामा लिएर हानिकारक स्यानिटाइजर बनाएको पाइएको हो।
कोरोना भाइरसको महामारीमा प्रयोग गरिने ह्यान्ड स्यानिटाइजरको प्रयोग बढेसँगै कालोबजारी तथा नक्कली गुणस्तरहीन सामान बनाउने बढेका छन्।
महाशाखाले पनि नेपालय खण्ड स्यानिटाइजर हानिकारक छ भन्ने खबर पाएको थियो। सोही खबर अनुसार उक्त स्यानिटाइजर गुणस्तर जाँच गर्न प्रहरीले औषधी व्यवस्था विभागको प्रयोगशालामा पठाएको थियो।
जाँचबाट स्यानिटाइजरमा मानव स्वास्थ्यमा असर पर्ने मिथानोल रसायन प्रयोग गरेको पाइएको एसपी पंगेनीले बताए।
उनका अनुसार उनीहरूले ६८ प्रतिशत मिथानोल स्यानिटाइजर राखेको पाइएको हो।
त्यस्तै, मेडिग्राफ ग्रुप अफ कम्पनी कतै पनि दर्ता नभएको प्रहरीले जनाएको छ।
यस सम्बन्धी प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत आवाश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाएको छ।