कपिलवस्तुको गोरुसिंगेमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।
तीव्र गतिमा गुडिरहेको जीपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको ज्यान गएको हो।
मोटरसाइकलमा गोरुसिंगेबाट पत्थरकोटतर्फ जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लु २ च १५१९ नं. को स्कारपियोले ठक्कर दिएको थियो।
गोरुसिंगे पत्थरकोट सडकमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका बिसीलाई उपचारको लागि तौलिहवा अस्पताल लगिएकोमा अस्पताल नपुर्याउँदै निधन भइसकेको गोरुसिंगे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत बिसी अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं १२ का स्थायी बासिन्दा हुन्।
उनी मंगलबार अर्घाखाँची घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बिसी सवार मोटरसाइकलको नम्बर भने खुलेको छैन।
प्रहरीले बिसीलाई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।