काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्दै जिम सञ्चालन गर्ने व्यक्तिलाई एक लाख जरिवाना तिराएको छ।
प्रशासनले टेकुस्थित इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई एक लाख जरिवाना तिराएको हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीले मंगलबार बिहान साढे ७ बजे जिम सञ्चालक ५४ वर्षीय गौतमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
काठमाडौंमा असार ७ गतेसम्मका लागि लम्ब्याइएको निषेधाज्ञामा जिमखाना खोल्न पाइने भनिएको छैन। त्यस आदेशविपरीत जिम खोलेपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अपिल बोहराले जानकारी दिए।
साथै, प्रहरीले उनका कामदार सुनसरी घर भई काठमाडौं बस्ने ४५ वर्षीय दीपक थापालाई पनि नियन्त्रणमा लिएको थियो।
उनीहरूमाथि कारबाहीको लागि प्रहरीले प्रशासनमा बुझाएको थियो। सोही अनुसार प्रशासनले श्रेष्ठलाई एक लाख रूपैयाँ जरिवाना तिराएको छ भने थापालाई ५ हजार तिराएको छ।