काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बिहीबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति–तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ।
सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ।
यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ,’ ‘महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ। कोभिड–१९ को महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइनेछ ।’
कोभिड–१९ बाट प्रभावित व्यवसायहरु ९जस्तै होटल, पर्यटनलगायतका क्षेत्र० लाई उल्लेख्य छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ।