सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जनाको शव फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहीबार दिउँसो पौने ४ बजेसम्म तीन जनाको शव फेला परेको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानस्थित मेलम्ची आयोजनाको क्याम्पबाट आठ जना कामदार बेपत्ता भएका थिए।
जसमध्ये ३ जना चिनियाँ नागरिक, ३ जना भारतीय नागरिक र दुई जना नेपाली थिए।
ती मध्ये दुई जना चिनियाँ र एक भारतीयको शव फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।
चिनियाँ नागरिक गोङ टियान छियोको शव सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ११ बदेरीस्थित इन्द्रावती खोला किनारमा फेला परेको हो। त्यस्तै, अर्का चिनियाँ यू चि झु र भारतीय नागरिक कमल लोचन महतोको सिन्धुलीको सुनकोशी गाउँपालिकामा नदी किनारमा भेटिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार अझै पनि १७ जना सम्पर्कविहीन छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको छ। अहिलेसम्म ८० जनाको सकुशल उद्दार भइसकेको छ।