गोठालो जाँदा सम्पर्कविहीन भएको जाजरकोटका ७ जनालाई सकुशल उद्दार गरिएको छ। आज बिहान उनीहरू सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
कुशे गाउँपालिकाको औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र ४० वर्षीय कृष्ण रोकाय मंगलबारदेखि सम्पर्कविहीन भएका थिए।
गाईभैंसी र बाख्रा चराउन उनीहरूसँगै जलजला पाटनमा पुगेका चार जना भने सम्पर्कमा आएका थिए।
उद्दार गरिएका उनीहरूलाई गाउँमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
सम्पर्कविहीन भएकाहरूको उद्दारका लागि बिहीबार नै प्रहरी र स्थानीयलाई पठाइएको थियो।
करिब ४ हजार ८०० मिटर उचाइमा पर्ने जलजला पाटनमा आएको हावाहुरी र चट्याङबाट २२ गाई, १० भैंसी र ५० बाख्रा मरेको प्रहरीले जनाएको छ।