लगातारको वर्षा पछिको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
‘मनाङको हुम्डेमा पहिराेका कारण मर्स्याङदी नदीकाे बहाव रोकिएको छ। पानीकाे बहाव पनि बढिरहेकाेले जुनसुकै बेला खतरा हुनसक्छ’, चामे गाउँपालिकाका अध्यक्ष लाेकेन्द्र घलेले बताए।
चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ।
पहिरो खसेर मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको छ।
चामेको पारिपट्टिको भाग डुबानमा परेको छ। सिङ्गो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ।
थुनिएको नदी नेपाली सेनामार्फत बम विस्फोट गराएर खुलाउने तयारी गरिएपनि पानी निरन्तर परिरहेकाले समस्या उत्पन्न भएको प्रशासनले जनाएको छ । प्रशासनले चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनेको छ।
नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।‘चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको छ। नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भएपनि पानी निरन्तर परिरहेकोले समस्या भइरहेको छ’, प्रजिअ लामिछानेले भने।
सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको उनले बताए ।