कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ ऐटपुरका २० वर्षीय सागर तिरुवा र २८ वर्षीय महेन्द्र बोहरा छन्।
म२प २०३३ र म२प ५३६८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई ६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका-६ शिवमन्दिरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा दुबैलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
अहिले कञ्चनपुर प्रहरीले लागुऔषध कारोबार तथा प्रयोगमा आक्रामक अभियान चलाइरहेको छ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको चतुर्वेदीले बताए।