युरोपेली मुलुक जर्मनीको पश्चिमतिरको सीमा बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्ड्ससँग जोडिन्छ। गत जुलाई ११ मा यी चार मुलुकको सीमामा एउटा न्यून चापीय क्षेत्र बन्यो। त्यो न्यून चापीय क्षेत्रमा मध्य युरोपका ताल, नदी र माटोबाट वाष्प केन्द्रीकृत भयो। वायुमण्डलमा जम्मा भएको त्यो वाष्प केही समय आकाशै रह्यो। केही दिनमै त्यो यसरी बर्सियो कि युरोपका यी विकसित मुलुकले बनाएका संरचना र बाढी नियन्त्रण प्रणालीले कामै गर्न सकेनन्।
मुसलधारे पानी परेपछि स-साना खोला उर्लिए। बाढी बस्तीमा पस्यो। सधैँ शान्त भएर बग्ने साना खोलाले आसपासका घर भत्काए, गाडी बगाए। बिजुलीको प्रसारणमा समस्या भयो। केही घन्टामै दर्जनौं मानिसले ज्यान गुमाए। सयौं जना सम्पर्कविहीन भए। यी चार मुलुकमा बाढी र डुबानमा परी कम्तीमा १८० जनाले ज्यान गुमाएमा छन्।
जर्मन मौसमविद्हरूले यसपालि हजार वर्षमा एकचोटी पर्ने पानी परेको बताएका छन्।
स्थानीयहरूले सम्झनामा भएसम्म कहिल्यै पनि यति ठूलो पानी परेको नदेखेको बताएका छन्। अधिकारीहरूले पनि केही घन्टामै जताततै जलमग्न भएकाले केही गर्न समय नै नपाएको बताएका छन्। ती साना-साना खोला केही घन्टामै बढेर त्यत्रा होलान् भन्ने सायद उनीहरूले कल्पना पनि गरेका थिएनन्।
अघिल्लो साता पश्चिम युरोपमा जे भयो त्यस्तै घटना यो साता मध्य चीनमा दोहोरियो।
चीनको हुनान प्रान्तको राजधानी झेङझाउमा शुक्रबारदेखि पर्न थालेको पानी मंगलबारसम्म थामिएन।
मंगलबार त यति धेरै पानी पर्यो कि सहरको मेट्रो रेल नै डुबानमा पर्यो। रेलभित्र पानी पसेर मानिसहरूको छातीसम्म पानी पुगेको भिडिओ सार्वजनिक भएका छन्।
रेलभित्रै पानीले डुब्न थालेपछि कति यात्रु बेहोस भए, कतिलाई वान्ता भयो। कतिले जिन्दगीको अन्तिम दिन यही रहेछ ठाने।
‘मेरो छातीसम्म पानी पुगेपछि म निकै डराएकी थिएँ। धेरै जनालाई सास फेर्न समस्या भइरहेको थियो। त्यही बेला मैले छेउमा उभिएकी यात्रुले फोनमा परिवारलाई आफ्नो बैंक खाताबारे जानकारी दिइरहेको सुनें, त्यतिबेला मलाई पनि अब बाँचिन्न त्यसै गर्नुपर्छ भन्ने लाग्यो,’ उद्धार गरिएकी एक जना यात्रुले भनेकी छन्। उनीजसरी झन्डै पाँच सय मानिसहरू मेट्रोमा फसेका थिए।
मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।
चिनियाँ मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्।
लगातार परेको पानीले ड्यामको सतह बढेर फुट्ने खतरा भएपछि चिनिया जनमुक्ति सेनाले केही ड्याममा बिस्फोट गरेको छ। अहिले पनि सयौं मानिसहरू विद्यालय, घर, कार्यालयमा अड्किएका छन्।
ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहान ३३ जनाको मृत्यु भएको छ भने ८ जना हराइरहेका छन्। १ करोड २० लाख जनसंख्या भएको झेङझाङमा मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।
विज्ञहरूले जर्मनीदेखि चीनसम्म अप्रत्यासित रूपमा अत्याधिक पानी पर्नु जलवायु परिवर्तनको असर भएको बताएका छन्। ग्रिनहाउस ग्यास उत्सर्जनका कारण पश्चिम युरोपमा धेरै वर्षा भएको उनीहरूको भनाइ छ। यसअघि हजार वर्षमा हुने यस्ता घटना आउने दिनमा बारम्बार हुन सक्ने उनीहरूले चेतावनी दिएका छन्।
अमेरिकाको पश्चिम क्षेत्रमा भइरहेको आगलागी, क्यारेबियन क्षेत्रमा शक्तिशाली बनिरहेका आँधीहरूले पनि अप्रत्यासित घटनाहरू अझै धेरै हुँदै जाने देखाएको उनीहरूको भनाइ छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका विवरणमा आधारित।)