सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले राजपत्र छाप्न सुरू गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफैं मुद्रण मेसिन जडान गरी आज (मंगलबार) देखि छाप्ने काम सुरू गरेको हो।
प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको उद्घाटन गरेकी हुन्।
सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताइन्।
‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ,’ उनले भनिन्।
मन्त्री जोशीले यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन्।
‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो,’ उनले भनिन्।
उनका अनुसार प्रदेश सरकारका दर्जनौं कागजपत्र मुद्रण विभागमा महिनौंदेखि छपाइका क्रममा रहेको बताइन्।
‘अब प्रदेशमै मेसिन आइसकेको छ। प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने छ,’ उनले भनिन्।
उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने बताइन्।
उनले भनिन्, ‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णय राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुनेछ,’ उनले भनिन्।
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए।
‘आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरे पनि जडान गर्न ढिलाइ भएकाले सञ्चालन गर्न सकिएको थिएन,’ उनले भने।
उनले सो मेसिन २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको बताए ।