पाल्पा अस्पतालले अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य विज्ञहरूले कोभिडको तेस्रो लहर आउनसक्ने चेतावनी दिइरहँदा अस्पतालले संघीय सरकारको आर्थिक सहयोगमा अक्सिजन प्लाण्ट सञ्चालनमा ल्याएको हो।
अक्सिजन प्लाण्ट जडानको लागि संघिय सरकारको अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो।
सरकारले बजेट स्वीकृत गरी अस्पतालमा प्लाण्ट जडान गरे पनि अस्पतालमा भने हालसम्म आइपुगेको छैन।
अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सरकारले बजेट स्वीकृत गरे पनि हालसम्म प्राप्त भइनसकेको जानकारी दिए।
जिल्लामा अक्सिजन प्लाण्ट नहुँदा अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितको उपचारमा कठिनाइ उत्पन्न भएको थियो। तर अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन भएपछि जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य चौकीमा अक्सिजन पुर्याउन सकिने अध्यक्ष पाण्डेले बताए।
पाण्डेका अनुसार अस्पतालमा जडान गरिएको प्लाण्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ।
इञ्जिनियर देवेन्द्र श्रेष्ठले जडान गरिएको प्लाण्टबाट प्रतिमिनेट ४ सय २० लिटर अक्सिजन उत्पादन हुने जानकारी दिए।
कोभिड- १९ को दोस्रो लहरको संक्रमणमा बिरामीहरूमा अक्सिजनको समस्या देखिए पनि पर्याप्त अक्सिजन नभएपछि उपचारमा कठिनाइ भएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिश कुँवरका अनुसार कोभिड संक्रमणका कारण पाल्पामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ।
अस्पतालमै प्लाण्ट सञ्चालनमा आएपछि कोभिडका बिरामीमात्र नभई दम, निमोनिया तथा अपरेसन गर्नुपर्ने अवस्थाका बिरामीहरूको उपचार समेत सहज हुनेछ।
अस्पतालमै अक्सिजन प्लाण्ट जडान गरिएपछि अस्पताल भर्ना भएका बिरामीलाई पाइपलाइनमार्फत् हरेक बेडमा अक्सिजन सुविधा पुर्याउने डा. कुँवरले जानकारी दिए।