ठूलो मात्रामा सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई रामेछापबाट खपटासहित पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट २५ किलो सालकको खपटा बरामद भएको प्रहरी उपरीक्षक महतोले बताए। उनका अनुसार यो मात्रा सम्भवत नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै बरामद भएको हो।
'ठूलो मात्रामा बरामद भएको छ। सम्भवत: नेपाली सालकको खपटाको अहिलेसम्मकै बढी बरामद भएको हो,' उनले सेतोपाटीसँग भने, 'किनकि हाम्रो रेकर्डमा चेक गर्दा यो भन्दा बढी देखिन्न।'
२५ किलोसम्मको खपटा निकाल्न धेरै सालक मारिएको हुनुपर्ने बताए। ७० देखि ८० वटा नेपाली सालकलाई मारेर खपटा निकालिएको हुनुपर्ने उनले बताए।
यसअघि एक सय ६२ किलो खपटा बरामद गरिएको थियो। तर सो खपटा विदेशी नागरिकले बोकेर ल्याएको थियो।
'पहिले एकचोटि बरामद गरेको खपटा विदेशीले ल्याएको थियो। नेपाली सालक थिएन। तर अहिलेको चाहिँ नेपाली सालक हो,' उनले भने।
वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि यस ब्युरोले विशेष सूचना पाएको थियो।
उनीहरूले लामो समयदेखि सुकाएर भण्डारण गरिराखेको सालकको खपटा बेच्न ग्राहक खोजिरहेका थिए। सोही सूचना पाएपछि प्रहरीले ब्युरोको टोली खटिएको थियो।
सोही टोलीले जिल्ला प्रहरी कार्यालय, रामेछापसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो।
मन्थली नगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट बिहीबार पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको छ।
उनीहरूले सो खपटा कहाँ र कसरीबाट ल्याइएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतोले बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना, ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने कानुनी प्रावधान छ।