लोकनाटक ‘राधाकृष्ण नाच’ को संरक्षण गरेर गाउँलेले यसलाई ताकम गाउँकै पहिचानका रुपमा स्थापित गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका बासिन्दाले सदियौंदेखि लोकनाटक देखाउँदै आएका हुन्। अचेल यसको संरक्षणमा युवाहरू जुर्मुराएका छन्।
भगवान शिव र पार्वतीले सुपुत्र गणेशका साथमा मत्र्यलोकमा राधाकृष्ण नाच अवलोकन गरेर प्रजालाई संरक्षण गरेको कुरा लोकनाटकमा देखाइन्छ। कथाअनुसार राधाकृष्णको मायाप्रेमलाई जोक्करले विचलन ल्याउन खोज्छ। यस्तोमा कृष्णले जोक्करको बध गर्छन्।
यसरी भगवान कृष्ण र राधाको अमर प्रेमकथामा आधारित लोकनाटक विशेषतः तिजका बेलामा मञ्चन गरिन्छ। यसपाला पनि तिजमा नाटक मञ्चन गरियो। नाटकका कलाकारले करिब १ घण्टा कला देखाए।
नाटकमा महिला कलाकारको भूमिकामा पनि पुरुष नै हुन्छन्। गोपाल आचार्य ‘शिव’ र श्यामप्रसाद आचार्य ‘पार्वती’ बनेका थिए भने गणेशको भूमिकामा थिए १६ वर्षे आयुष आचार्य। त्यस्तै दिपक सुवेदी ‘कृष्ण’ बने भने सुवास खत्री ‘राधा’। र विवेक आचार्यले जोक्करको अभिनय गरे।
राधाकृष्ण नाचमा सिंगो गाउँ नै झुम्यो। कलाकारहरू बाजाको धुन र भजनको तालमा नाच्छन्। उनीहरूलाई बाद्यबादनमा सूर्यनाथ जैसी, छविराज जैसी, खेमबहादुर भण्डारी र रेशम खत्रीले साथ दिए। उनीहरूले शंख, मादल, डम्फु, झुर्मा र बाँसुरी बजाएका थिए।
कलाकार गोविन्द पौडेलले गीतका टुक्का निकालेपछि त्यसलाई ऋषिराम सुवेदी, ठाकुर पौडेल, सरस्वती पौडेल, देवकी आचार्य र बिष्णु सुवेदीलगायतले छोपेका थिए।
तिजको दिनमा वडा कार्यालयको आँगनमा नाटक देखाइएको थियो भने भोलिपल्ट काफलडाँडास्थित विद्यालय प्रांगणमा।
गाउँलेहरूले मौलिक संस्कृति संरक्षण गर्न राधाकृष्ण नाच देखाउँदै आएका हुन्। यसरी नाचगान गरेस्वरुप उनीहरूले पारिश्रमिक पाउँदैनन। शिवको भूमिका निर्वाह गर्दै आएका कलाकार गोपाल आचार्य भन्छन्, ‘संस्कृति जोगाउन पाउँदा मनमा संतोक हुन्छ। हामीले अरुलाई मनोरञ्जन दिन पाएका छौं।’
बर्खे काम गरेर थाकेका बेला लोकनाटकबाट गाउँलेले भरपुर मनोरञ्जन लिन पाउँछन्। सुरुमा शिव मन्दिरबाट शिवपार्वती नाच्दैनाच्दै पाञ्चायन देव भगवती मन्दिर घुमेपछि गाउँघरमा नाच देखाउने चलन छ।
जति हेरे पनि हेरौंहेरौं लाग्ने भएकाले दर्शकको घुइँचो लाग्छ। त्यसमा राक्षस रुपधारण जोक्केर देउताहरूको संरक्षणका लागि अरु बाधा व्यावधान हटाएर बाटो खुला गर्दछ।
एक पटकमा ५० मिनेटसम्म नाचगान गर्न सकिन्छ। तिज बाहेक अन्य समयमा विभिन्न ठाउँबाट मेला महोत्सवमा निम्तो आउँदा छिटोमा २० मिनेटमै प्रस्तुती पुरा गर्न सकिने कलाकार बताउँछन्।
ताकममा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच सुरु भएको इतिहास छ। यहाँका बासिन्दा जुम्लाबाट आएका मानिन्छन्। हाल गाउँमा क्षेत्री, बाहुन, गुरुङ, दलित र मगरको बसोबास छ।
‘राधाकृष्ण नाच हाम्रो मौलिक पहिचान हो’, ताकम गाउँकी अगुवा अमृता भण्डारी भन्छिन्, ‘यो हाम्रो गौरव हो।’
यी कलाकारले वरपरका धारापानी, काफलडाँडा र बेनी बजारमा पुगेर आफ्नो कला देखाइसकेका छन्। गाउँ बाहिर प्रस्तुती देखाउँदा केही पारिश्रमिक पाउँछन्। त्यो रकमले आवश्यक वस्त्र र आभुषण खरिद गर्ने गरिएको छ।
सनातन धर्म र संस्कृति जोगाउन गाउँलेहरूले ‘धार्मिक नाट्य समूह’ गठन गरेका छन्। यसमा अध्यक्ष ऋषिराम सुवेदी, सचिव नेत्रलाल शर्मा, कोषाध्यक्ष ठाकुर पौडेल, सहसचिवमा सरस्वती पौडेल, सदस्यहरूमा गोपाल आचार्य, दुर्गा पौडेल, गोविन्द पौडेल, सूर्यनाथ जैसी, बिष्णु सुवेदी, रमेश पौडेल र रेशम खत्री छन्।
त्यस्तै सल्लाहकारहरूमा चिन्तामणि सुवेदी, गंगाधर सुवेदी, फणिन्द्र सुवेदी, रमाकान्त पौडेल र खुमनाथ सुवेदी छन्।
‘हाम्रो नाट्य समूहलाई चाहिने सामान खरिद गर्न र भवन बनाउन सरकारले बजेट दिए हुन्थ्यो’, समूहका अध्यक्ष सुवेदीले भने, ‘हामी नयाँ पुस्तालाई नाच सिकाउन चाहन्छौं।’
भगवानप्रतिको आस्था, परम्पराको सम्मान र आध्यात्मिक भावनाका कारण यस लोकनाटकले निरन्तरता पाइरहेको छ।
‘यसलाई लोप हुन नदिन हामी भजन रेकर्ड गर्नुका साथै म्युजिक ट्रयाक बनाउने योजनामा पनि छौं’, सुवेदीले भने।
राधाकृष्ण नाच धार्मिक आस्थाको प्रतीक त हुँदै हो, यसलाई पर्यटन प्रोडक्टका रुपमा समेत विकास गर्न सकिन्छ।
ताकम हुँदै अन्नपूर्ण–जगन्नाथ मन्दिर घुम्न आउने आन्तरिक पर्यटक हुन् कि गुर्जा भ्याली, धौलागिरी बेस क्याम्प, ढोरपाटन र गुरिल्ला पदमार्गमा यात्रा गर्नेहरूले पनि यहाँको राधाकृष्ण नाच अवलोकन गर्न सक्छन्।
‘राधाकृष्ण नाचको प्रचार र संरक्षणमा हामी गाउँलेसँग हातेमालो गर्नेछौं’, म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘पर्यटकलाई राधाकृष्ण नाच देखाएर पनि आम्दानी गर्न सकिन्छ।’