काठमाडौंबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरबाट १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
दाहालको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो।
सो टोलीले बुधबार मध्यराति उनीहरूलाई पक्राउ गरेको बस्नेतले बताए। जुवा अखडाबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ बरामद भएको छ।
तास, १० हजार रूपैयाँका ४० वटा सिक्का, पाँच सय रूपैयाँका ८० वटा सिक्का र एक हजार रुपैयाँको १४० वटा सिक्का बरामद भएको बस्नेतले बताए
उनीहरूमाथि महानगरीय वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ।
काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना अनुसार प्रहरीले जुवा अखडाहरूमाथि निगरानी गर्ने क्रममा प्रहरी टोली दाहालको घरमा पुगेको थियो।
काठमाडौं परिसर अन्तर्गत १४ वटा प्रहरी वृत्त छन्। ती क्षेत्रबाट काठमाडौं प्रहरीले विगत १० महिनायता ७२० जना जुवाडे पक्राउ गरेको छ। यसमा जम्मा ८९ वटा मुद्दा चलेका छन्।
जुवा अखडाबाट एक करोड ७९ लाख ३४ हजार ९८७ रुपैयाँ बरामद भएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।
उनका अनुसार सबैभन्दा बढी कालिमाटी र बौद्ध क्षेत्रमा जुवा खेलाइने गरिएको पाइएको छ। प्रहरीले यो १० महिनामा बौद्धबाट १९१ जना र ३४ लाख १७ हजार १९० रुपैयाँ बरामद गरेको थियो भने कालिमाटीबाट ३४ लाख २४ हजार ७४० रुपैयाँ बरामद गरेको छ।
यसपछि लैनचौर, हाराजगञ्ज, न्युरोड तथा दरबारमार्ग क्षेत्रमा जुवा अखडा चल्ने गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।