कोभिड-१९ का कारण बालबालिकाको स्थिति थप गम्भीर हुनसक्ने युनिसेफले जनाएको छ।
हिजो (बुधबार) प्रतिवेदन जारी गर्दै युनिसेफले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना र पोषण तत्वहरू प्राप्त नहुँदा उनीहरूको विकासमा हानी पुग्नसक्ने बताएको छ।
पछिल्लो समय बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ महामारीका कारण कम उमेरका बालबालिकाहरूमा पोषणको संकट थप बढेको बताइएको छ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनिन्, 'जब जोखिम सबभन्दा बढी हुन्छ तब लाखौं बालबालिकालाई खुवाउन असमर्थ हुन्छौं। पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढ्दो शरीर र मस्तिष्कमा हानी पुर्याउँछ जसले उनीहरूको शिक्षा, रोजगारीको सम्भावना र भविष्यलाई प्रभावित गर्छ।'
९१ वटा देशहरूमा गरिएको सर्वेक्षणपछि ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाउने गरिएको पाइएको छ।
त्यस्तै, एक तिहाइ बालबालिकाले भने फस्टाउन आवश्यक खाना उपभोग गर्न पाएको उक्त प्रतिवेदनमा उल्लेख छ।
नेपाल, इन्डोनेसिया, मलावी लेसोथो र केन्याको तथ्यांकले आम्दानीमा पुगेको हानी र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा महामारीभरि नै तीनमध्ये एक परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेकाले बालबालिकाका लागि आहार व्यवस्था गर्न परिवारका लागि चिन्ताको विषय बनेको पाइएको छ।
बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरि भोग्नु पर्छ। सानै उमेरमा उनीहरूको वृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरू अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क विकास, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ।
पुड्कोपन र ख्याउटेपन तथा सुक्ष्म पोषक तत्त्वहरूको कमीका साथै खानाको गलत अभ्यासको कारणले हुने
अधिक तौल र मोटोपनले दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्ने पनि युनिसेफले जनाएको छ।
युनिसेफको अनुमान अनुसार, विश्वव्यापी रूपमा पाँच वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधा भन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) दुई वर्षभन्दा कम उमेरका छन्। त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बिचमा पुड्कोपनको प्रकोप तीव्र गतिले बढ्छ।
प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन्।
उदाहरणका लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिस गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो। दक्षिण एसियामा चारमध्ये एकभन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ। तर सही प्रतिबद्धता र लगानी गरेमा परिवर्तन सम्भव भएको युनिसेफको भनाइ छ।
बंगलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टे जस्ता दस देशहरूले सिफारिश गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अंकले बढाएका छन्।
'बालबालिका क्यालोरीको भरमा मात्र बाँच्न वा फस्टाउन सक्दैनन्। सरकारहरू, निजी क्षेत्र, नागरिक समाज, विकास र मानवीय साझेदारहरू र परिवारहरूसँग मिलेर मात्र हामी खाद्य प्रणाली परिवर्तन गर्न सक्छौं र प्रत्येक बालबालिकाका लागि पोषण, सुरक्षित र सस्तो आहार उपलब्ध गराउन सक्छौं,' युनिसेफकी निर्देशक हेनरिएटा फोरले भनिन्।