टिपरको ठक्करबाट गाडी चालकको मृत्यु भएपछि आक्रोसित स्थानीयले अवरोध गरेको पूर्व-पश्चिम राजमार्गको माइधारा चार घण्टापछि पुन:सञ्चालन भएको छ।
पीडित पक्षले ५ सूत्रीय माग राखेर प्रशासनसँग छलफल गरी मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन झापा प्रशासन सहमत भएपछि राजमार्ग सुचारू भएको हो।
सरकारले मृतक परिवारलाई ४० लाख क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनुपर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ ५ सय मिटर परमात्र गर्नुपर्ने र राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्नुपर्ने र अनावश्यक ठाउँमा ट्राफिक चेकिङ गर्ने ट्राफिक प्रहरीलाई कारबाही गर्नुपर्ने पीडित पक्षले माग राखेका छन्।
पीडित पक्षले राखेको मागको विषयमा प्रहरी, जनप्रतिनिधि र पीडित पक्षको छलफल गरी टुंगो लगाउने मौखिक सहमतिपश्चात् राजमार्ग खुलेको स्थानीयले बताए।
बिहान ८ बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयबासीले साढे १२ बजेसम्म राजमार्ग अवरोध गरेका थिए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३–००१–क–००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती (पिकअप भ्यान)लाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका-९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो।
पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको प्रहरीले जनाएको छ। टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ।