ठूलो आन्द्रामा क्यान्सर हुने धेरै कारण छन्। पहिलो कारण पारिवारिक हो। परिवारमा कसैलाई क्यान्सर भएको थियो भने छोराछोरीमा पनि हुन सक्छ।
सानो-सानो मासु पलाएर लामो समय रह्यो भने क्यान्सर हुन्छ। खानपिन मिलेन भने पनि क्यान्सर हुन्छ। रातो मासु, सेकुवा, ससेज लगायत खाएमा क्यान्सर हुन सक्छ।
फाइबर भएका खाना खाँदा क्यान्सरको खतरा कम हुन्छ।
ठूलो आन्द्राको केही रोग भए पछि गएर क्यान्सर हुन सक्छ। आन्द्रामा भएका सानो घाउहरू आठ\दस वर्ष रह्यो भने पनि क्यान्सरको सम्भावना धेरै हुन्छ।
ठूलो आन्द्रामा क्यान्सर भएको सुरूमा केही थाहा हुँदैन। त्यसले अलि जटिल रूप लिँदै गएपछि मात्रै थाहा हुन्छ।
सुरूमा शरीरमा रगत बग्न थाल्छ तर दिसामा देखिँदैन। त्यस्तो अवस्थामा रगतको कमीले देखिने समस्या देखिन थाल्छ।
जस्तो, कमजोर महसुस हुनु, चाँडै थकाइ लाग्नु, रिंगटा लागे जस्तो हुनु। त्यही समस्या बायाँतर्फ भयो भने आन्द्रालाई 'ब्लक' गर्न सक्छ। त्यस्तो अवस्थामा पेट दुख्ने, ढाडिने र फुल्ने हुन्छ।
ठूलो आन्द्राको दिसा गर्ने ठाउँ नजिक तलतिर क्यान्सर छ भने घाउबाट अलि धेरै रगत बग्न सक्छ। दिसामा रगत आउने हुन्छ। कहिलेकाहिँ दिसा रातै हुन्छ। धेरैजसो बिग्रेको रगत आउँछ। त्यस्तो लक्षण देखियो भने हामीले क्यान्सरको शंका गर्छौं।
दिसा गर्ने ठाउँमा क्यान्सर भएको छ भने दिसा लागेजस्तो हुन्छ तर हुँदैन। यो बाहेक बिरामीलाई भोक कम लाग्ने, तौल घट्ने हुन्छ।
क्यान्सरबाट बच्न पोलेको खानेकुराभन्दा पकाएको खाना खानुपर्छ। परिवारमा कसैलाई क्यान्सर भएको छ भने अरूले परीक्षण गर्नुपर्छ।
सुरूआती चरणमा क्यान्सर भएको छ भने त्यो पूर्ण रूपमा निको हुन्छ। तर अन्तिम चरणमा पुगिसकेको भए निको हुँदैन।
ठूलो आन्द्राको क्यान्सर भयो भने शल्यक्रिया गरेर निकाल्नुपर्छ।
(वरिष्ठ ग्यास्ट्रो इन्टेसटाइनल सर्जन एवम् उपप्राध्यापक डा. सुरेन्द्र शाह पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा कार्यरत छन्।)