कीर्तिपुरको बल्खु खोलामा एक महिलाको शव फेला परेको छ।
शुक्रबार बिहान साढे ६ बजेतिर कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित बल्खु खोलामा एक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
उनका अनुसार शव अन्दाजी ३१-३५ वर्षीया महिलाको हुनुपर्छ। अहिले ती महिलाको पहिचान खुलिसकेको छैन।
कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोडिने झुलुंगे पुलभन्दा अन्दाजी १०० मिटर तल खोलामा शव फेला परेको हो। बिहान मर्निङ वाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर भएको थियो।
शव सडिसकेको अवस्थामा फेला परेको हुँदा केहीदिन अघिकै हुनुपर्ने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
'सड्न लागेको अवस्थाको शव हो। तीन-चार दिनअघि नै बगाएर ल्याएकोजस्तो देखिन्छ,' उनले भने,'बिहान मर्निङ वाक गएको मान्छेले देखेपछि हामीलाई खबर भयो।'
महिलाको पहिचानको लागि प्रहरीले सबै कार्यालयमा पत्राचार गर्ने तयारी थालेको छ। प्रहरीले महिलाको साथबाट मोबाइल फोन पनि बरामद गरेको छ।
उक्त फोनबाट पनि पहिचान खुलाउन सकिनेबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
पोष्टमार्टमको लागि महिलाको शव महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ।
'बाहिरी चोटपटक केही देखिएको छैन। हामीले शव पोष्टमार्टम गर्न पठाएका छौं,' उनले भने, 'भित्री चोटपटक भए त्यसबाट देखिएला।'