राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो।
‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठी गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको बताइएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको सम्बन्धमा नेपालले प्राप्त गरेका अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने र आगामी दिनमा नेपाललाई विपतबाट बचाउनका लागि नेपालको मार्गचित्र के हो भन्ने विषय प्रस्तुत गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।
उनले भने, ‘हामीले दुइटा मूल उद्धेश्य राखेर यो सम्मेलन गर्दैछौं। एउटा, हामीले प्राप्त गरेका अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने। सिकाइ साटासाट गर्ने। त्यसका साथै हामीले प्राप्त गरेका अनुभव हाम्रो भावी पुस्ताका निम्ति डकुमेन्टेसन गरेर छाड्ने, जसले गर्दा भोलिका दिनमा यस्ता खालका विपद् आउँदाखेरी कसरी काम गर्दाखेरी उपयुक्त हुन सक्दोरहेछ। कहाँ कमजोरी भयो ?, कहाँ राम्रो गर्न सक्यौं? के कुरामा सुधार गर्नुपर्ने होला ?, यी सबै कुराको बारेमा बताउन सकौं। अर्को, भोलिका दिनमा नेपाललाई सबै प्रकारका विपदबाट सुरक्षितमूलक कसरी बनाउने ? त्यसको निम्ति हाम्रो रोडम्याप के हुनसक्छ ? हाम्रो मार्गचित्र के हो ? हाम्रो कार्यक्रम के हो ? यसको बारेमा पनि हामीले त्यो कार्यक्रममा प्रस्तुत गर्ने।’
प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुकलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ भने सम्मेलनलाई लक्षित गरी नामको वेबसाइट पनि सार्वजनिक गरेको छ।