काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल आएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
३ जना महिला र ८ जना पुरूषलाई सिनामंगलको एक होटलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनीहरू काठमाडौंमा कहिलेदेखि छन् भन्ने पुष्टि भइनसकेको उनले बताए। उनीहरूले आफूहरू चार-पाँच दिनअघि मात्रै आएको बताएका छन्।
'उनीहरूले केही दिनअघि मात्रै आएको भनेका छन्। स्थानीयले उनीहरू २५-३० दिनदेखि नै बसिरहेको भनेका छन्,' महतोले भने, 'भेरिफाइ भइरहेको छ।'
पक्राउ पर्नेहरूमा एकै परिवारका पाँच जना छन् भने बाँकी छुट्टाछुट्टै छन्। उनीहरू भारत हुँदै सुनौली नाकाबाट आएका थिए।
अफगान नागरिकहरू काठमाडौंमा आएको भन्ने सूचना पाएपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
अहिले ब्युरोले उनीहरूमाथि सोधपुछ गरिरहेको छ।
अफगानिस्तानमा तालिबान सत्तामा आएसँगै धेरै नागरिकले त्रासमा देश छाडेका थिए। उनीहरू पनि तालिबानले काबुल कब्जा गरेपछि भागेर नेपाल आएको आशंका गरिएको छ।