बागमती दोभान र अमरावती गरी २ वटा पार्कको शिलान्यास गरिएको छ।
काठमाडौं महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी पार्कको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। त्यस अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली वडाध्यक्ष नवराज पराजुलीसहित कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीय सहभागी थिए।
शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले महानगर सस्तो नभई गुणस्तरीय काम गर्ने नीतिमा रहेको उल्लेख गरे।
‘लागत इस्टिमेटभन्दा ३० प्रतिशत ४० प्रतिशत कममा योजना कार्यान्वयनको कबोल गर्ने पद्धतिले काम हुन्छ तर टिकाउ हुँदैन। हाम्रो कानुनले कम लागतमा कबोल गर्नेलाई छान्नुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा विकास सिकारूहरूले प्रयोग गर्ने ठाउँ बनेको छ, ’ प्रमुख शाक्यले भने, ‘गुणस्तरीय कामका लागि उसको क्षमता मूल्यांकनको पहिलो शर्त हो।’
‘सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने हामीले लिएको नीति हो। जग्गा कम भए पनि त्यसलाई खुला राख्ने कार्यक्रम छ। हाम्रा नीति र कार्यक्रम स्थानीय सहभागिताले मात्र कार्यान्वयनमा आउँछन्। यसकारण हामी भौतिक पूर्वाधार विकास गरेर समुदायलाई हस्तान्तरण गर्दै आएका छौं। ताकि स्थानीय दायित्वबाट विकासको दीगो उपयोग हुन सकोस्, ’ उनले थप भने।
त्यसक्रममा सभामुख श्रेष्ठले, बागमती नदी किनारामा पार्क तथा हरियाली बढाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा जम्मा भएको राजस्व पर्याप्त भएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए।
स्थानीय विकासका लागि संघ, प्रदेश र स्थानीय तह तीन वटै तहका सरकारले लगानी गरिरहेका छन्। आवश्यक पर्दा थप पनि हुन सक्छ। तर, नदीको बचावट, त्यस क्षेत्रको सुधार र संरक्षणका लागि लगानीको पहिलो दायित्व समितिले बोक्नुपर्छ।
त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रूपमै कार्यान्वयनमा आएको महसुस भएको बताइन्।
महानगरले बनाएका पार्कहरूको दीगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भनिन्, ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो। त्यहाँ जग्गा नै छैन। पैसा भएर मात्र पनि नहुने रहेछ। त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ। त्यहाँ पार्क विकास गरौं।’
अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिका तर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने योजना सुनाए। त्यसैगरी बागमती दोभान विकास समितिका अध्यक्ष चेतबहादुर थापाले पार्कको निर्माण सम्पन्न भइसकेपछि दोभान क्षेत्रको सुन्दरतामा निखार आउने अपेक्षा गरे।
दोभान पार्क करिब ११ आना जमिनमा निर्माण हुँदैछ। १ करोड ११ लाख ७१ हजार ६४९ रुपैयाँ लागत इस्टिमेट गरिएको पार्क निर्माणका लागि यगन विल्डर्स प्रालिले ६७ लाख ४०९ रुपैयाँ ३५ पैसाका निर्माण कबोल गरेर छनोट भएको छ।
भदौ २९ गते काम गर्न अनुमति दिइएको योजना ०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।
अमरावती पार्क करिब ४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ। महानगरले यसको निर्माणका लागि १ करोड ३६ लाख ४६ हजार ७९७ रुपैयाँ इस्टिमेट गरेको थियो। बोलपत्रमा प्रतिस्पर्धा हुँदा के. वि. सन्स एण्ड सप्लायर्स प्रालि ले ८९ लाख ८२ हजार १७७ रुपैयाँमा निर्माण कवोल गरेर छनोट भयो। ०७८ असोज १० गते निर्माण कार्यका लागि महानगर र निर्माण पक्षबीच सम्झौता भएको हो। काम ०७८ चैत मसान्तभित्र सक्नुपर्नेछ।