रूपन्देही प्रहरीले आफ्नो जिल्लामा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनमा कडाइ गरेको छ।
यसक्रममा प्रहरीले रूपन्देहीमा विषादी बेचबिखन गरिरहेका १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीलाई अभिलेख राख्न निर्देशन दिएको छ।
ती केन्द्रमा विषादी बेचबिखनको मासिक तथ्यांक राख्न र किसानको पहिचान गरेर मात्रै बिक्री-वितरण गर्न प्रहरीले निर्देशन दिएको छ।
जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरूको तथ्यांक बढेको, त्यसमा कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवन उच्च देखिएकाले कडाइ थालिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
उनका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका १०७ वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीनगरी पत्ता लागेका छन्।
‘ती ठाउँमा प्रयोगको कारण देखाएर मात्र विषादी बिक्री गर्न निर्देशन दिइएको छ, त्यसको मासिक विवरण प्रहरीलाई उपलब्ध गराउन भनिएको छ,’ केसीले सेतोपाटीसँग भने, ‘यो भए-नभएकोबारे प्रहरीले नियमित अनुगमन गर्छ।’
केसीका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा रूपन्देहीमा ९९ जना व्यक्तिहरूले आत्महत्या गरेका छन्। जसमा मुख्य रूपमा आल्मुनियम फोस्फेट, ओप-एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका विषादी प्रयोग भएको देखिएको उनले बताए।
‘असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको हो,’ उनले भने।
रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको छ। सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरिएको केसीले बताए।
‘यो अवधारणामा भारतबाट ल्याइने विषादी र ती विषादी कहाँ कसरी प्रयोग हुन्छन् भन्ने अनुगमन पनि गरिरहेका छौं,’ केसीले भने।
के हो ‘थ्री सर्कल’ अवधारणा?
रूपन्देहीमा प्रहरीले आत्महत्या न्यूनीकरणका लागि गत साउन महिनादेखि ‘थ्री सर्कल’ (तीन वृत्त) अवधारणा सुरू गरेको थियो।
बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देही छ। रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए।
रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको छ। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका आत्महत्याको बढी जोखिमयुक्त क्षेत्र छन्।
प्रहरी उपरीक्षक केसीका अनुसार यो अवधारणा अन्तर्गत तीव वटा वृत्तमा आत्महत्या हुने क्षेत्रलाई विभाजन गरिएको छ।
‘सबैभन्दा बढी आत्महत्या हुने ठाउँलाई रातो वृत्तमा राखिएको छ। कम हुने ठाउँलाई पहेँलो र आत्महत्या नहुने क्षेत्रलाई हरियो वृत्तमा राखिएको छ,’ उनले भने।
ती ठाउँका प्रहरीलाई सुरूमा तीन वृत्त कार्यनीतिको अनुशिक्षण सञ्चालन गरिएको थियो।
प्राथमिकताको आधारमा इलाका प्रहरी कार्यालय अन्तर्गतका वडाहरूमा आत्महत्या जोखिम मापन गरिएको थियो। त्यसपछि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राख्ने काम सुरू गरिएको थियो।
रूपन्देहीमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू छन्। त्यसरी आत्महत्या गर्ने ठाउँमा मनोवैज्ञानिक अनुशिक्षण सञ्चालन गरिएको थियो।
बजारमा सहज रूपमा पाइने कीटनाशक औषधी आत्महत्याको अर्को कारण रहेको अनुसन्धानबाट पत्ता लागेको थियो।
यो अवधारणा अन्तर्गत कीटनाशक विषादीको बिक्री अभिलेख राख्न सुरू गरिएको केसीले बताए।
यसरी वृत्त निर्माणपछि पालिका प्रमुख, उप-प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखसहितको समिति निर्माण गरिएको उनले बताए।
कार्यक्रम सञ्चालन हुने सम्बन्धित वडाहरूमा स्थानीय पालिका तथा अन्य सरोकारवालासहितको वडा समिति निर्माण छ। त्यसपछि पालिका, मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल गरिएको छ।
रातो वृत्त भएको ठाउँमा मानसिक स्वास्थसँग सम्बन्धित विशेषज्ञ र प्रहरीसहितको टोलीबाट मासिक परामर्श सेवा सञ्चालन गरिएको छ। कम जोखिम रहेको पहेंलो सर्कलभित्र प्रहरी र अन्य सरोकारवाला टोलीबाट मासिक अन्तरक्रिया भइरहेको छ।
यो अभियान सञ्चालन गर्नुअघि प्रहरीले आत्महत्या प्रभावित क्षेत्रमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट देखिएका तथ्यलाई आधार बनाएर कार्यक्रम चलाइएको प्रहरी उपरीक्षक केसीले बताए।