बिहीबारदेखि सुरू हुने बाह्रौं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोलि(बिहीबार)देखि सुरू हुँदैछ।
जनगणनाको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताए।
जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए।
जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।
काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्ला मोरङ, झापा, सुनसरी, ललितपुर, रूपन्देही र कैलाली लगायतका जिल्लामा भने २/२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए। जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरीवेक्षक परिचालन हुने उनले बताए।
तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए।
उनले भने, 'भारतीय सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौं। कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेसन हामीले अरू स्रोतबाट र त्यहाँसँग सम्बन्धित अरू व्यक्तिबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिँदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौं। अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ। स्याटेलाइट प्रयोग गरिकन ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौं। एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ती विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन। यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौं। त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौं।’
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए।
सबै तहमा चाहिने खण्डीकृत विवरण जनगणनाबाट आउने बताए।
आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रूपमा रहने उनले बताए।
उनले भने,‘सबै तहमा चाहिने खण्डीकृत डेटा जो उत्पादन गर्नुपर्ने हुन्छ, विकासका योजना तर्जुमा गर्न, बजेट बनाउन, त्यो सबैलाई सहयोग गर्ने एउटा माउ ग्रन्थ जस्तैको रूपमा अहिलेको जनगणनालाई लिएका छौं। यो धेरै महत्वपूर्ण छ। यसले उत्पादन गर्ने डेटाले हाम्रो देशको सामाजिक, आर्थिक रूपान्तरणका लागि दूरगामी प्रभाव पार्छ।’
काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी ट्याबलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ।
साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना संकलन गरिने भएको छ।
यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ।