बेलहिया बुटवल ६ लेन सडक अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारिता बढेपछि भैरहवाको मुख्य बजारको सडक चोकमा पनि ट्राफिक लाइट जडान गर्न थालिएको छ।
सवारी साधनको बढी आवतजावत हुने भैरहवाको मुख्य बजार क्षेत्रको बुद्धचोक र देवकोटा चोकमा आइतबार ट्राफिक लाइट जडान गरिएको हो।
सिद्धार्थनगर नगरपालिकाले आफ्नै लगानीमा जडान गरेको ट्राफिक लाइटको नगर प्रमुख हरि अधिकारी र उपप्रमुख उमा काफ्ले र रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले आइतबार उद्घाटन गरेका हुन्।
नगरपालिकाका प्रमुख अधिकारीले भारतीय सीमानजिक रहेको र नगरमा सवारी साधनको चाप बढ्दै गएको कारण सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक लाइट जडान गरिएको बताए।
‘नजिकै भारतीय सीमानाका बेलहिया रहेको र बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडक समेत बुद्धचोक, देवकोटा चोक नै रहेकोले यहाँ सवारी साधनको चाप अत्यन्त बढी छ, यसलाई व्यवस्थित गर्न ट्राफिक लाइट जडान गर्नु अनिवार्य थियो,’ उनले भने।
सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको बजेट बनाउँदा नै भैरहवाको देवकोटा चोक र बुद्धचोकमा ट्राफिक लाइट जडानका लागि बजेट छुट्याएको थियो।
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले करिब ४१ लाख रुपैयाँको लागतमा बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाइट जडान गरिएको बताए।
लाइट जडान गरिएको दुइटै चोक भैरहवाका अत्यन्त व्यस्त क्षेत्र हुन्।
यहाँ सवारीको चाप मात्रै बढि नभइ गति समेत तीव्र हुने भएकोले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ट्राफिक लाइटले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
‘सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया बुटवल सडकखण्डलाई ६ लेनको बनाएसँगै यहाँ गाडीको गति तीव्र हुने गरेको छ, तीव्र गतिमा चल्ने सवारी साधनले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीय स्तरबाट पनि ट्राफिक लाइट जडान गर्नुपर्ने माग आइरहेको थियो, अब भने ट्राफिक व्यवस्थापनमा सहयोग पुग्छ,’ उनले भने।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले ट्राफिक लाइटले सडक प्रयोगकर्ताहरूलाई अनुशासन पालना गर्न बाध्य पार्ने भएकोले सवारी साधनका कारण सडकमा हुने भिड कम गर्ने र दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताए।
उनले ट्राफिक लाइटको विषय भैरहवाका लागि नयाँ भएकाले यसको कार्यान्यवनको सुरूआती चरणमा केही समस्या हुन सक्ने भए पनि विस्तारै बानी पर्ने बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले ट्राफिक लाइटले दुर्घटना न्यूनीकरण गर्नुका साथै पैदलयात्रीलाई बाटो पार गर्दा लेनको पालना गराउन सहयोग पुग्ने बताए।
उनले ट्राफिक लाइटले ट्राफिक व्यवस्थापनलाई स्वचालित बनाउने हुँदा सडक प्रयोगकर्ताहरूलाई अनुशासनमा राख्ने बताए।
ट्राफिक लाइटले मात्र दुर्घटना कम गर्ने होइन, उनले भने, ‘जब बजार क्षेत्र बढ्दै जान्छ, सवारीको चाप बढ्दै जान्छ यस्तो बेला दुर्घटनाको जोखिम बढी हुन्छ, तर ट्राफिक लाइटले सवारी साधनलाई मनपरी गुड्न रोक्छ,’ उनले भने।
ट्राफिक व्यवस्थापन गर्ने उत्कृष्ट माध्यम ट्राफिक लाइट नै भएकोले ढिलो चाँडो हरेक सहरका चोकमा ट्राफिक लाइट जडान अनिवार्य हुने बताए।
उनले सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
यसअघि लितोत्तमा नगरपालिकाले मणिग्राम, ड्राइभर टोल र कोटिहवा गरी बेलहिया- बुटवल ६ लेन सडकखण्डको तीन स्थानमा ट्राफिक लाइट जडान गरी कार्यान्वयनमा ल्याएको छ।